काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीचको वार्ता निष्कर्षविहीन भएको छ।
प्रधानमन्त्री निवासमा भएको भेटमा दुवै पक्षले आ–आफ्नो पक्षका धारणा राखेर बैठक सकिएको बताइएको छ।
शुक्रबार सहमतिको बिन्दु पहिल्याउन नसेकपछि दुई अध्यक्ष शनिबार स्थायी कमिटीको बैठकअघि फेरि भेट्ने भएका छन्। बैठक तीन घन्टाभन्दा बढी समय चलेको थियो।
प्रधानमन्त्री ओलीले दुवै पद छोड्नुपर्ने अडानमा ओलीइतर समूह छ। प्रधानमन्त्री ओलीले भने दुवै पद आफूसँगै राखेर अन्य विषयमा सहमति खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी स्थायी कमिटीको बैठक एक दिनको लागि स्थगित गरिएको थियो।
बालुवाटारमा भएको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रचण्ड शीतलनिवास गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।