काठमाडौं- सरकारले दुईवटा महत्वपूर्ण एवं रणनीतिक सडक स्तरोन्नतिका लागि विश्व बैंकसँग करिब ५५ अर्ब रूपैयाँ (४५ करोड अमेरिकी डलर) ऋण लिने तयारी गरेको छ। नागढुंगा-नौबिसे-मुग्लिन सडक खण्ड तथा पूर्व-पश्चिम राजमार्गको कमला-बर्दिवास-पथलैया खण्ड स्तरोन्नतिका लागि यो रकम ऋण लिन लागिएको हो।
काठमाडौंको नागढुंगा हुँदै पृथ्वी राजमार्गको नौबिसेदेखि चितवनको मुग्लिन जोड्ने करिब १०० किलोमिटर तथा कमला-ढल्केबर-पथलैया खण्डको १३० किलोमिटर सडक स्तरोन्नति आयोजनाका लागि यो रकम परिचालन हुनेछ। विश्व बैंकले नेपाललाई 'स्ट्राटेजिक रोड कनेक्टिभिटी एन्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट'अन्तर्गत यो रकम दिन ऋण स्वीकृत गरिसकेको छ।
नेपालको अन्तरदेशीय व्यापार सहजीकरण गर्ने तथा आर्थिक विकास र रोजगारी सिर्जना गर्ने गरी ती आयोजनामा ऋण उपलब्ध गराउने विश्व बैंकले जनाएको छ। 'अहिलेको जस्तो कोरोना महामारीको समयमा मानिसको जीउधनको रक्षा पहिलो प्राथमिकता हो, योसँगै आर्थिक सुधार पनि उत्तिकै महत्वपूर्ण छ,' विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जर्भोसले भनेका छन्।
राजधानी काठमाडौं प्रवेशको महत्वपूर्ण नाका नागढुंगाबाट नौबिसे जोड्न सरकराले सुरुङमार्गको काम अघि बढाइसकेको छ। त्यसका अतिरिक्त सडकमार्ग स्तरोन्नतिको काम पनि सँगसँगै अघि बढाउने तयारी गरिएको हो। 'हाम्रो आवश्यकताअनुसारकै कार्यक्रम अघि बढाउन वार्ता अघि बढाइएको हो,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'अब छिट्टै ऋण सम्झौतामा हस्ताक्षर गरेर अघि बढ्नेछौँ।'
यसैगरी पूर्व-पश्चिम राजमार्गको कमला-बर्दिवास-पथलैया खण्ड स्तरोन्नति पनि यही कार्यक्रमअन्तर्गत अघि बढाइनेछ। पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत कमला-कञ्चनपुर खण्डमा काम अघि बढिसकेको छ। अन्य खण्डको पनि वित्तीय व्यवस्थापन भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। पूर्व-पश्चिम राजमार्गको १०० किलोमिटर सडक स्तरोन्नति भने मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदानमा गर्ने सरकारी तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।