काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति संस्था पार्टीभन्दा ठूलो भन्ने विषयमा सम्झाइरहनु नपर्ला भनी कटाक्ष गरेका छन्। बुधबार बेलुका एक ट्विटमार्फत उनले पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु गणतन्त्रको अवमूल्यन भएको समेत बताए।
‘राष्ट्रपति व्यक्ति होइन संस्था हो। पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो। संविधान र संस्थाको मर्यादाको खिलाफमा हो। गणतन्त्रकै अवमूल्यन हो’ उनले ट्विटमार्फत राष्ट्रपतिलाई मेन्सन गर्दै लेखेका छन्‚ ‘राष्ट्रपतिज्यु‚ राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!’
बुधबारै मन्त्रिपरिषदको बैठकबाट सबै मन्त्री उपस्थित नभई हतारमा गरिएको संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपतिबाट १ घण्टभित्रै पास भएपछि उनले ट्विटरमार्फत यस्तो अभिव्यक्ति राखेका हुन्।
यसैगरी साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि के राष्ट्रपति ‘ओली गुट’का नेता हुन् भनेर प्रश्न गरेका छन्। बुधबारै एक ट्विट गर्दै राष्ट्रपति संविधानको पालक र रक्षक भएकाले गणतन्त्रको खिल्ली नउडाउन आग्रह गरेका हुन्।
‘के राष्ट्रपति 'ओली गुट'का नेता हुन्? होइनन् भने बारम्बार राष्ट्रपतिले ओली गुटका नेताको जस्तो व्यवहार गर्न मिल्छ?’ राष्ट्रपतिलाई गणतन्त्रको गहनाको रूपमा परिभाषित गर्दै मिश्रले भनेका छन्‚ ‘राष्ट्रपति गणतन्त्रका गहना हुन्। राष्ट्रपति संविधानका पालक र रक्षक हुन्। ओलीलाई संकटबाट बचाउने साधन होइनन्। सिंगो गणतन्त्रको खिल्ली नउडाऊँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।