काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षक क्विके सेटियनका लागि अहिले कठिन समय आइरहेको छ। जे आधारमा एर्नेस्टो भालभर्देलाई हटाएर उनको नियुक्ति भएको थियो त्यो अहिले झनै कमजोर बनिरहेको छ।
एथ्लेटिको मड्रिडसँगको बराबरीपछि प्रशिक्षक सेटियनले अहिले नै आफ्नो जिम्मेवारीबारे प्रश्न उठाउने समय नभएको र आफ्नो काम धरापमा नपरेको बताएका थिए। तर अवस्था त्यस्तो देखिँदैन। आउँदो सिजन उनको जागिर बचाइराख्न ला लिगाकै बाँकी खेल र च्याम्पियन्स लिगले समेत असर गर्ने नै छ।
कोरोना भाइरस कोभिड १९ का कारण रोकिएर सुरु भएको लिगमा बार्सिलोना कमजोर देखिएको छ। रोकिएर सुरु भएको लिगपछि रियल मड्रिडले आफ्नो पाँच खेल नै जितेको छ भने बार्सिलोनाले खेलेको ६ खेलमा ३ खेल बराबरी खेलेको छ, ३ खेल जितेको छ।
बार्सिलोनाले अब भिलारियल, स्पानियोल, भायाडोलिड, ओसासुना र अलाभेससँग खेल्न बाँकी छ। रियल मड्रिडले बुधबार राति हुने गेटाफेसँगको खेलपछि एथ्लेटिक क्लब, अलाभेस, ग्रानडा, भिलारियल र लेगानेससँग खेल्नेछ। बाँकी खेललाई हेर्दा पनि बार्सिलोनालाई उपाधि यात्रा कठिन देखिन्छ।
अहिलेको परिस्थितिमा तथ्यांकलाई हेर्ने हो भने पनि भालभर्देभन्दा सेटियन राम्रो देखिन सकेका छैनन्। यो सिजन भालभर्देले टिम सम्हाल्दा जितको प्रतिशत ६१.५४ थियो जहाँ अहिले सेटियनले प्रशिक्षण सम्हालेपछि बार्सिलोनाको जित प्रतिशत ६१.११ मात्र छ।
गोलका हिसाबले हेर्दा पनि भालभर्दे रहँदा बार्सिलोनाले हरेक खेलमा २.३१ को औषतमा गोल गरेको थियो भने अहिले सेटियनको समयमा त्यो १.८३ मात्र छ। गोलका लागि बनेका अवसर र पोस्टमा भएको प्रहार हेर्दा पनि भालभर्देको समय भन्दा सेटियनको समय नै कमजोर देखिन्छ।
च्याम्पियन्स लिगमा लगातारको खराब उपस्थितिले भालभर्देमाथि प्रश्न चिन्ह आएको थियो। ला लिगामा राम्रो नतिजा दिइरहेका भालभर्देले त्यसैले आफ्नो काम गुमाए। त्यसमा सेटियनको नियुक्ति बार्सिलोनाको पुरानो शैलीसँग उनी जानकार छन् भन्ने आधारमा गरिएको थियो।
बलमाथिको बढी नियन्त्रण, मिडफिल्डबाट पोस्टमा बढ्ने तीब्रता र त्यससँगै मैदानमा देखिने रचनात्मक संयोजन सेटियनमाथिको आश थियो। तर ती आशहरु अहिले मैदानमा स्पष्ट देखिएका छैनन्।
सेटियनमा देखिएको असफलता उनले टिमसँग काम गर्न पाएको समय कम भएकाले भन्ने विश्लेषण भइरहे पनि उनीसँग खेलाडी नै रुष्ट हुनुले अवस्था जटिल बनेको छ। त्यसमा सहायक प्रशिक्षक इडर सराबियाको व्यवहारले खेलाडीहरु अझ टाढिएका छन्।
२६ पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिग जितेर बलियो देखिएको टिमका लागि यो अवस्था सहज छैन। २०१५ को सिजन च्याम्पियन्स लिग जितेको बार्सिलोना त्यसपछि भने च्याम्पियन्स लिगमा उत्कृष्ट देखिन सकेको छैन। ला लिगामा २०१० पछिको अवस्था हेर्दा बार्सिलोनाले ६, रियल मड्रिडले २ र एथ्लेटिको मडिलेटिको मड्रिडले एक उपाधि जितेका छन्।
पछिल्लो समयमा च्याम्पियन्स लिगको कमजोर उपस्थिति पनि लिगको उपाधिले सान्त्वना मिल्ने ठाउँ भइरहेको थियो। तर अहिले खेलाडीहरु नै लिग उपाधि कमजोर भइसकेको भनेर निराश देखिन्छन्। त्यसका पछाडि कारणहरु जे जति भए पनि मैदानको कमजोर उपस्थिति नै प्रमुख कारण हुँदै हो।
कतिसम्म भने हरेक सिजन गोलमा उत्कृष्ट देखिने बार्सिलोना कप्तान लियोनल मेस्सीसमेत कमजोर देखिन थालेका छन्। अन्य खेलाडीको तुलनामा मेस्सीको अहिलेको प्रदर्शन पनि उत्कृष्ट हो तर उनीबाट अपेक्षा योभन्दा धेरै बढी रहन्छ। गर्दै आइरहेका पनि थिए।
एर्नेस्टो भालभर्देलाई हटाएर क्विके सेटियन प्रशिक्षकका रुपमा आएपछि मेस्सीले १७ मध्ये १० खेलमा गोल गर्न सकेका छैनन्। यसअर्थमा सेटियनको प्रशिक्षण मेस्सीका लागि सबैभन्दा खराब समय भइरहेको छ।
यसअघि २०१३–१४ को सिजन मेस्सीका लागि सबैभन्दा खराब समय मानिन्थ्यो। जब कि टाटा मार्टिनोको प्रशिक्षणमा त्यो सिजन मेस्सीले ४१ गोल गरेका थिए। तर अहिलेको सिजन २७ गोलमा रहेका मेस्सी गोलको त्यही अंकमा पुग्न पनि असम्भव देखिएको छ। गएको १० वर्ष हेर्दा मेस्सीले ४० गोल पार नगरेको सिजन थिएन। पेप गार्डिओलाको पहिलो प्रशिक्षणमा ३८ गोल गरेका मेस्सी यो सिजन त्यही आँकडामा पनि नपुग्ने देखिन्छ।
यिनै कारणहरुले हुनुपर्छ मैदानदेखि डे«सिङ रुमसम्म मेस्सीको प्रशिक्षकसँगको सम्बन्ध राम्रो छैन। प्रशिक्षण टिमका सदस्यहरु मेस्सीको अवस्थाबारे खुलेर आलोचना गर्न सक्दैनन् भने मेस्सी उनीहरुलाई सुनिरहेका छैनन्। जसको प्रत्यक्ष असर खेलमा छ।
भालभर्देलाई जे कारण परिवर्तन गरिएको थियो त्यो सेटियनबाट पूरा भइरहेको छैन। त्यसमा पनि खेलाडीसँगको बिग्रदो सम्बन्ध थप चिन्ताको विषय हो। खेलाडीहरु सञ्चारमाध्यम मार्फत आफ्नै प्रशिक्षकलाई प्रश्न गरिरहेका छन्।
बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउ प्रशिक्षक सेटियनसँग खुसी हुन सकेका छैनन्। समर्थकहरु अध्यक्ष बर्टामेउको कामसँग खुसी छैनन्। खेलाडी किनबेच र टिम बनाउने बार्सिलोनाको योजना फितलो देखिएको छ। युवा खेलाडीहरुको प्रयोगमा भइरहेको काम प्रभावकारी हुन सकेको छैन। पाँच खेलाडी परिवर्तन गर्न पाउने खेलमा समेत सेटियनको खेलाडी परिवर्तन योजना स्पष्ट नहुनु उनको कमजोरी हो।
फ्रान्क डि योङ घाइते रहेका कारण मिडफिल्डमा अवस्था मिल्न सकेको छैन। सेटियनको प्रशिक्षण शैलीमा केन्द्रमा डि योङ नै देखिइरहेका थिए। त्यसमाथि पछिल्लो हप्ता आर्थरलाई युभेन्टस पठाउने तयारीले उनको समेत खेलमा मात्र ध्यान हुन सकेन। अहिले २३ वर्षका आर्थरलाई बेचेर बार्सिलोनाले ३० वर्षका पियानिच किनेको छ। यसपछाडिका ब्यवस्थापन योजना स्पष्ट छैनन्। जसका कारण बोर्डको आलोचना भइरहेको छ।
घाइते रहेका लुइस स्वारेज फर्किए पनि एन्टोनियो ग्रिंजम्यानमाथिको १२० मिलियन युरोको लगानी मैदानमा देखिन सकेको छैन। उनको स्थानमा १७ वर्षका अन्सु फातीले लिइरहनु बार्सिलोनाकै लागि राम्रो पक्ष होइन। जब कि अन्सुका बुबासमेत आफ्नो छोराले बार्सिलोनामा प्लेइङ सेटमा पर्ने बेला नभएको बताउँछन्।
आफूमाथि प्रशिक्षकको विश्वास नहुनुले ग्रिजम्यान पनि चिढिएका छन्। यस्ता महत्वपूर्ण खेलहरुमा कम्तिमा आफूले प्रमाणित गर्न पाउने अवसर मिल्नुपर्ने ग्रिजम्यानको बुझाइ छ। यिनै कारण उनीमाथि युरोपकै अरु क्लबले नजर लगाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।