काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे सुरु हुने भनिएको स्थायी कमिटी बैठक २ घण्टा ढिलो गरी सुरु भएको छ। तर बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली भने बैठक हलमा प्रवेश गरेका छैनन्।
बिहान ११ बजेको निर्धारित समयभन्दा केही समय अगावै अध्यक्ष प्रचण्डसहितका नेताहरू बालुवाटार पुगेका थिए। दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बोलाइएकाले प्रधानमन्त्री आउन ढिला भएकाले केही समयसम्म नेताहरू बाहिरै टहलिएका थिए।
१२ बजे मन्त्रिपरिषद् बैठक सुरु हुनुभन्दा केही समयअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास समेत पुगेका थिए। मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ। संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेपछि दल फुटाउने अध्यादेश ल्याउन सक्ने समेत मन्त्रिपरिषद् बैठकमा सहभागी एक नेताले नेपाललाइभसँग बताएका छन्। संसद् चलिरहेको अवस्थामा अध्यादेश ल्याउन नपाइने व्यवस्था छ।
पछिल्लो समय नेकपाभित्र विकसित घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री र राष्ट्रपतिबीच निरन्तर रूपमा भेटघाट हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।