काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले बार्सिलोनाको पछिल्लो खेलपछि आफूहरुलाई केही सहज भए पनि ‘अझै कुनै उपाधि जितिनसकेको’ बताएका छन्। बुधबार राति पौने २ बजे गेटाफेसँग रियल मड्रिडको खेल हुँदैछ।
गेटाफेसँगको खेलबारे जानकारी दिने क्रममा जिदानले आफूहरुले कुनै उपाधि जितिनसकेकाले योजनामा फरक नआउने बताएका हुन्। ला लिगामा अहिले शीर्ष स्थानमा रहेको रियल मड्रिडको ३२ खेलमा ७१ अंक रहेको छ। दोस्रोमा रहेको बार्सिलोनाको ३३ खेलमा ७० अंक छ।
हेड टु हेडमा समेत अघि रहेको रियल मड्रिडले गेटाफेलाई हराएमा बार्सिलोनासँग चार अंकको अग्रता बनाउने छ। त्यसपछिका पाँच खेलमा उपाधिको छिनोफानो हुने भए पनि बार्सिलोनाका लागि चार अंकको अग्रता भेट्न कठिन हुनेछ।
‘हामीले अहिलेसम्म केही जितिसकेका छैनौँ। हामीले कुनै पनि कुरामा विश्वस्त हुने अवस्था छैन। हामी उपाधि पक्का नहुँदासम्म उस्तै मेहनतले अगाडि बढिरहनु पर्दछ। मैले खेलाडीका रुपमा यसअघि पनि यस्तो अवस्था देखिसकेको छु त्यसैले अहिले खुसी हुने बेला भइसकेको छैन’ प्रशिक्षक जिदानले भने।
कोरोना भाइरस कोभिड १९ कारण रोकिएर सुरु भएको फुटबलपछि रियल मड्रिडले आफ्नो पाँच खेल नै जितेको छ। जहाँ बार्सिलोनाले खेलेको ६ खेलमा ३ खेल बराबरी खेलेको छ भने ३ खेल जितेको छ।
रियल मड्रिडले गेटाफेसँगको खेलपछि एथ्लेटिक क्लब, अलाभेस, ग्रानडा, भिलारियल र लेगानेससँग खेल्नेछ। यस्तै बार्सिलोनाले अब भिलारियल, स्पानियोल, भायाडोलिड, ओसासुना र अलाभेससँग खेल्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।