काठमाडौं- कोरोना संक्रमणको जोखिमलाई कारण देखाउँदै सरकारले संसद् अधिवेशन स्थगित गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो १२ बजे बसेको मन्त्रिपरिद् बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
'पिसिआर टेस्ट पनि गरेको र सांसदहरूको जिल्ला भ्रमण पनि जारी रहेकाले कोरोनाको संक्रमण हुन जोखिम झन् बढेकाले संसद् बैठक स्थगित गर्ने निर्णय सरकारले गरेको छ। तत्काल सांसदहरूको पुनः पिसिआर परीक्षण पनि संभव देखिएन,' बैठकमा सहभागी कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले भनिन्, 'संसद्को बिजनेस पनि सकिएको र कोरोना संक्रमणको त्रास पनि बढ्दै गएकाले संसद् अधिवेशन स्थगित गर्न सिफारिस गर्ने निर्णय गरिएको हो।'
यसअघि सबै सांसदहरूको पिसिआर परीक्षण गरी संसद् अधिवेशन सुरु गरिएको थियो। तर धेरै सांसद्हरू जिल्ला भ्रमणमा जाँदैआउँदै गरेका छन्।
मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीलाई भेट गर्न राष्ट्रपति निवास बालुवाटार पुगेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्किए लगत्तै मन्त्रिपरषद् बैठक बसेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने स्थायी समिति बैठकमार्फत दबाब दिएपछि भएको प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटेका थिए।
बुधबार साँझसमेत दाहाल र नेपाल समूहको छलफलले पार्टीको निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य पार्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।