काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्। पछिल्लो समय नेकपाभित्र तीव्र रूपमा विकसित घटनाक्रम भएपछि छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका थिए।
पार्टीभित्र संकट चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई दिनहुँजसो भेट्दै आएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने स्थायी समिति बैठकमार्फत दबाब दिएपछि भएको प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
बुधबार साँझसमेत दाहाल र नेपाल समूहको छलफलले पार्टीको निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य पार्ने निर्णय गरेको थियो।
यसैबीच १२ बजेदेखि मन्त्रिपरिषद् बैठक सुरु हुने भएको छ। यसपछि मात्र नेकपाको स्थायी कमिटी बैठक सुरु हुने जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।