काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गहिँरिदो विवादका बीच पुष्षकमल दाहाल 'प्रचण्ड' निवासमा नेताहरूबीच छलफल चलिरहेको छ।
बिहान साढे ८ बजेदेखि जारी छलफलमा केपी ओली निकटका नेताहरूसँग प्रचण्डले विवाद निरूपणका विषयमा छलफल गरिरहेका छन्। उनले ओली निकटका नेताहरूसँग छलफल गर्ने बुधबार साँझको प्रचण्ड-नेपाल समूहका नेताहरूको छलफलबाट तय भएको थियो। सोही अनुसार, प्रचण्डले ओलीनिकट केही स्थायी समिति सदस्यलाई छलफलका लागि खुमलटार बोलाएका थिए।
छलफलमा ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेता सहभागी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
प्रचण्ड-नेपाल समूहका केही नेता पनि सहभागी भएको बताइएको छ।
नेकपाको मंगलबार र बुधबार बसेको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले ओलीको राजीनामा मागेपछि नेकपामा संकट देखिएको छ। आफ्नो तर्फको रणनीति तय गर्न र मध्यमार्गी बाटो खोज्ने प्रयास तीव्र भएका छन्।
बुधबार बिहान ओलीले आफू निकटका नेताहरूसँग बालुवाटारमा परामर्श गरेका थिए। बुधबार साँझ नै प्रचण्ड-नेपाल नेताहरूको झम्सिखेलमा बैठक बसेको थियोे।
स्थायी कमिटीको बैठक बिहीबार बिहान ११ बजे पनि बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।