काठमाडौं- रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ स्थित सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न ९ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको छ। सत्तारुढ नेकपा सांसद देवेन्द्र पौडेलको नेतृत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो। पौडेलसँगै सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुंखे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य छन्।
चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समिति नाम दिइएको समितिको कार्यकाल काम सुरु गरेको मितिबाट एक महिनासम्म हुनेछ। सभामुखको निर्देशनमा समितिले कार्यविधि तय गर्नेछ। समितिले घटनाको छानबिनका लागि आवश्यकताअनुसार सम्बन्धित व्यक्तिको सहयोग लिन सक्ने छ। समितिको अन्य कार्यविधि प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम हुनेछ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले गत शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका थिए। कांग्रेसको मागपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको नियमावलीको दफा १७७ बमोजिम संसदीय विशेष समिति गठन हुने घोषणा गरेका थिए। सोहीअनुसार समिति बनाइएको हो।
जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम सम्बन्ध थियो। तल्लोको जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवा ती किशोरीलाई लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटपिट गरी ६ जनाको हत्या गरेको आरोप लागेको छ।
कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराज पक्षको छ। उक्त घटनामा नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, भेरी नगरपालिका–११ का गोविन्द शाहीको हत्या भएको थियो। उनीहरुको पोष्टमार्टम रिपोर्टमा समेत शरीरमा निलडाम देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।