काठमाडौं- एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरले बैंकको वार्षिक वित्तीय विवरण पारित गरेको छ।
एडिबीले पहिलोपटक भर्चुअल माध्यमबाट वार्षिक सभाको आयोजना गर्दै त्यसबाट पारित वर्ष २०१९ को आय व्ययको विवरण शुक्रबार सार्वजनिक गरेको हो। बैंकले सन २०१९ मा १ अर्ब ६ करोड ९० लाख (१.०६९ विलियन) अमेरिकी डलर बराबर खुद नाफा आर्जन गरेको र सो नाफा यस वर्षका लागि खर्च गर्न विभिन्न शीर्षकमा विनियोजन गर्ने जनाएको छ।
यो वार्षिक रुपमा एडिबीले आर्जन गरेको हालसम्मकै ठूलो आय राशि हो। यसअघि सबैभन्दा धेरै खुद आय सन् २०१८ मा ८४ करोड १४ लाख (८४१.४ मिलियन) अमेरिकी डलर बराबर भएको थियो।
खुद आयमध्येको यस वर्ष खर्च गरिने रकममा ६१ करोड ५८ लाख (६१५.७ मिलियन) अमेरिकी डलर बराबर ‘क्यापिटल एडिक्वेसी फण्ड’ र २५ करोड ९५ लाख (२५९.५ मिलियन) अमेरिकी डलर बराबर ‘एडिबी फण्ड’का लागि छुट्याइएको छ। एडिबी फण्डका लागि छुट्याइएको रकम न्यून आय भएका मुलुकका लागि अनुदान सहयोगमार्फत खर्च गरिने रकम हो।
त्यस्तै, १३ करोड (१३० मिलियन) अमेरिकी डलर बराबर टेक्निकल एसिस्टेन्स स्पेसियल फण्डका लागि छुट्याइएको छ। यो शीर्षकमा विनियोजन गरिएको रकम मुख्यतया कोभिड- १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य र खाद्य सुरक्षालगायत क्षेत्रमा खर्च गरिनेछ।
३ करोड अमेरिकी डलर बराबर रिजनल कोअपरेसन एण्ड इन्ट्रिगेसन फण्ड, २४ करोड अमेरिकी डलर बराबर क्लाइमेट चेन्ज फण्ड र १० करोड अमेरिकी डलर एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डका लागि छुट्याइएको छ।
वार्षिक सभालाई सम्बोधन गर्दै एडिबीका अध्यक्ष मासात्स्गु असाकावाले अहिले तत्कालको प्राथमिकता कमजोर अर्थतन्त्र र कोभिड- १९ का कारण बढी प्रभावित सदस्य राष्ट्रहरूलाई सहयोग गर्ने र उनीहरूको अर्थतन्त्रको दिशालाई दिगो विकासतिर लैजाने भएको बताए। वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित भएसँगै हामी कोभिड-१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई सम्बोधन गर्न केही वित्तीय उपकरणहरुको परिचालन गर्न सकिने उनको भनाइ थियो।
एडिबीका ५३ औं वार्षिक सभाको पहिलो चरणको बैठकमा ६८ वटै सदस्य राष्ट्रका गभर्नर तथा प्रतिनिधिहरू सहभागी गराएर ‘बिजनेस सेसन’ सम्पन्न गरिएको हो भने दोस्रो चरणको बैठक आगामी सेप्टेम्बर १८ देखि २१ तारिखसम्म दक्षिण कोरियामा आयोजना हुने गरी तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।