म आमा, म छोरी
परिवारको शीतल छहारी
म बुहारी, म नै जीवनसाथी
व्यक्ति एक, भूमिका अनेक
हो, म एक नारी।
पढाइलेखाई गरेँ अनेक
सपना साकार पार्दैछ हरेक
जिम्मेवारीको बोक्दै भारी
अगाडि बढिरहेछु, म नारी
प्रेममा राधा, गुहस्थीमा जानकी
अंगाल्नेछु सबै चुनौती
ममताको घारी,नयाँ जीवनको बारी
म एक नारी
दह्रो स्वाभिमान मेरो
भावनाहरू छन् गहीरो
पितृसत्तात्मक समाजको लडाई नहारी
अगाडि बढ्दै छु म नारी।
मौनतालाई कमजोरी नठान
काली जागे हुन्छ कठिन
अन्यायको उठाउँदिन भारी
म एक नारी।
पाप धुने गंगा म
अत्याचारी बगाउने गंगा नि म
परिवारलाई बाँध्ने नौहाते सारी
म एक नारी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।