काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको दोस्रो सूचनामा कपिलबस्तुमा थप तीन जनालाई संक्रमण पुष्टि भएको उल्लेख छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो।
उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा बताइएको छ।
शनिबार नै जारी पहिलो सूचनामा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख थियो। जसअनुसार बर्दिया, नार्खु ११ निवासी २८ वर्षीया महिला, सिरहा, सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिला, चितवन गढौंली १ निवासी २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।
यससँगै शनिबार मात्रै नेपालमा ९ जना संक्रमित थपिएका छ्न्।
माघ १० गते चीनबाट फर्किएका एक विद्यार्थीमा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाको केस देखिन थालेको हो।
नेपालमा संक्रमितमध्ये ३६ जना भने अहिले संक्रमणमुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।