काठमाडौं- जर्मन क्लब एफसी अग्सबर्गका प्रशिक्षक हाइको हर्लिकले मन्जन किन्नका लागि क्वारेन्टाइनबाट बाहिर निस्कँदा उनको निकै आलोचना भइरहेको छ। जसका कारण उनले बुन्डेस लिगाका खेल समेत गुमाउने भएका छन्।
हर्लिकको क्लब अग्सबर्ग र उल्फ्सबर्गबीच बुन्डेस लिगा खेल भोलि शनिबार हुँदैछ। कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको लिग फुटबल शनिबारदेखि सुरु हुन लागेको हो। यो हप्ता खेल सुरु हुनअघि टिमका सबैलाई अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको थियो।
आफूले क्वारेन्टाइन तोडेर गल्ती गरेको प्रशिक्षक हर्लिकले स्वीकार गरेका छन्। ‘हुन त मैले बाहिर निस्कँदा पनि सबै सुरक्षा उपाय अपनाएको थिएँ, अब जे भयो त्यसलाई सच्याउन त सक्दिनँ, मैले गलत सन्देश दिने काम गरेँ। मन्जन सकिएकाले सुपरमार्केटसम्म गएको थिएँ’ उनले भनेका छन्।
लिग तालिकामा अग्सबर्ग १४औँ स्थानमा रहेको छ। रेलिगेसन जोनभन्दा पाँच अंकले माथि रहेको अग्सबर्गले शनिबार सातौँ स्थानमा रहेको उल्फ्सबर्गसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।