काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि मिचिएको प्रकरणमा सरकार कूटनैतिक पहल प्रारम्भ नगरेर वक्तव्यमा सीमित भएको भन्दै आपत्ति जनाएको छ।
सभापति शेरबहादुर देउवाले वक्तव्यमार्फत् सरकार नक्सा प्रकरणमा वक्तव्यमा सीमित रहको जनाउँदै अहिले सोही प्रवृत्ति दोहोरिएको जनाए। ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्दछ,’ कांग्रेसले वक्तव्यमा भनेकाे छ।
नेपालको भू-भागको अधिकार र स्वामित्वका लागि सरकारले गम्भीर कूटनैतिक पहलकदमी गर्नुपर्ने उल्लेख गर्दै कांग्रेसले राष्ट्रियताको प्रश्नमा कांग्रेस सरकारको साथमा रहने प्रतिबद्धता जनाएको छ।
चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेकाे विषयमा सरकारको धारणासमेत माग गरिएको छ। उच्चस्तरीय कूटनैतिक पहलमार्फत् दीर्घकालीन समाधान खोज्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
सन् २०१५ मा भारत र चीनले लिपुलेकका विषयमा गरेको सहमतिलाई तत्कालीन नेपाली कांग्रेसको सरकारले असहमति जनाएको र दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएकोसमेत स्मरण गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।