काठमाडौं- ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली बाहिरिएका छन्। उनले बैंशाख १५ गतेदेखि लागू हुने गरि आफ्नो कार्यकाल बाँकी रहदै राजीनामा दिएका हुन्।
उनी २०७३ असारमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा प्रवेश गरेका थिए। चार वर्ष अगाडि प्रवेश गर्दा बैंकको शाखा २४ वटा थियो। उनी बाहिरिदै गर्दा १ सय ५ वटा पुगेको छ। आफ्नो चार वर्षे कार्यकाल उपलब्धिपूर्ण भएको बताउने ज्ञवालीले साढे एक वर्ष नायब प्रमख कार्यकारी अधिकृत, साढे चार महिना कामु प्रमुख कार्यकारी अधिकृत र दुई वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरे।
यस्तो रह्यो चार वर्षको उपलब्धि
२४ वटा शाखा सञ्जालबाट १ सय ५ वटा पुगेको छ। ९८ करोड रुपैयाँको चुक्ता पुँजी हाल तीन अर्ब ५० करोड रुपैयाँ पुगेको उनले जनाएका छन्। त्यस्तै साढे सात अर्ब रुपैयाँको निक्षेप ३४ अर्ब रुपैयाँ, ६ अर्ब रुपैयाँको ऋण लगानी २९ अर्ब रुपैयाँ पुगेको छ।
चार वर्ष अगाडि बैंकको नाफा १५ करोड रुपैयाँ थियो। गत वर्ष नै बैंकको मुनाफा ५३ करोड रुपैयाँमाथि नाघेको ज्ञवालीले जनाएका छन्। गत वर्ष बैंकले सबैभन्दा धेरै १२ दशमलव ७५ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकको खराब कर्जा १ दशमलव ३९ प्रतिशतबाट शून्य दशमलव ५४ प्रतिशतमा झार्न सफल भएका छन्।
यस अवधिमा उनको नेतृत्वमा तीन वटा क्षेत्रीय स्तरका विकास बैंकहरुबीच सफल मर्जर भयो। अहिलेको अवस्थामा बैंकका लागि तरलताको अभावका कारणले व्यवसाय वृद्धि गर्न चुनौतीपूर्ण रहेको उनले संकेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।