काठमाडौं- नवगठिन जनता समाजवादी पार्टीले दल दर्ताको लागि निवेदन दर्ता गराएको छ।
एकीकरणमा जोडिएका राजपा र समाजवादीका नेताहरु क्रमशः शरतसिंह भण्डारी र उपेन्द्र यादवले दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका छन्। निवेदनमा उनीहरुले राजपा र समाजवादीबीच एकता भएको जानकारी गराएका छन्।
दुवै पार्टीका प्रमुख नेताहरु सहितको टोली निर्वाचन आयोग कान्तिपथ पुगेर दल दर्ताको लागि निवेदन दिएको हो। निवेदनको साथमा एकताको सहमतिपत्र बुझाइएको छ। अन्य आवश्यक कागजात पछि बुझाइने नेता केशव झाले जानकारी दिए।
निवेदनको दर्ता नम्बर १३८८ रहेको छ।
बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गरिएको झाले जानकारी दिए।
सरकारले अध्यादेश ल्याएपछि विभाजन हुने आशंका गरिएको समाजवादी र राजपा पार्टीले बुधबार साँझ एकताको सहमति पत्रका हस्ताक्षर गरेका थिए। पार्टी विभाजन अघि नै निर्वाचन आयोगमा दर्ता गर्ने दबाबमा एकीकृत दल थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।