काठमाडौं- पूर्व स्वास्थ्यराज्यमन्त्री डा सुरेन्द्र यादवलाई राज्य पक्षबाट अपहरण गरेको आरोप समाजवादी पार्टीले लगाएको छ। समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा बुधबार साँझ ५ बजे निवासबाट अपहरण शैलीमा प्रहरीले उठाएको समाजवादीका प्रचार उपप्रमुख विश्वदीप पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
काठमाडौवाट गएको प्रहरीको टोलीले जनकपुरबाट अपहरण गरेको र पार्टी फुटाउने प्रयोजनका लागि यस्तो गरिएको दाबी पाण्डेको छ। यादवलाई स्थल मार्ग हुँदै जनकपुरबाट काठमाडौं ल्याउन लागिएको बताइएको छ।
दुई दिनअघि मात्र सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो। संसदीय समिति वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था संशोधन गरिएको थियो। उक्त अध्यादेश जारी भएपछि मधेश केन्द्रितसहित नेकपाभित्रै नै पार्टी विभाजन हुने हल्ला चलेको थियो।
यादव महोत्तरीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। यादव ओली सरकारकै पालामा स्वास्थ्य राज्यमन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।