काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म आरडिटी र पिसिआर गरी १५ हजार ८ सय जनाको नमुना परीक्षण गरेको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ८ हजार ९ सय २९ जनाको आरडीटी र ६ हजार ८ सय ७१ जनाको पिसिआरबाट गरी कूल १५ हजार ८ सय जनाको कोरोना परीक्षण भएको जानकारी दिका हुन्।
'हालसम्म ८ हजार ९ सय २९ जनाको आरडीटी र ६ हजार ८ सय ७१ जनाको पिसिआरबाट गरी कूल १५ हजार ८ सय जनाको कोरोना परीक्षण भएको छ,' उनले भने, '१४ जिल्ला बाहेक सबै जिल्लामा आरडिटी सुरु गरिएको छ।'
कोरोनाको उपचार गराइरहेका १५ जनाकै अवस्था सामान्य भएको समेत उनले बताए। हाल पाटन, टेकु, वीरगञ्ज, बाग्लुङ र कैलालीमा उनीहरुको उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार सरकारले आरडीटी गरिने परीक्षण अब १४ जिल्लामा बाँकी छ। प्रदेश १ को ७ वटा जिल्ला, प्रदेश दुईको ३, गण्डकी प्रदेशमा एक, प्रदेश पाँचमा एक र कर्णाली प्रदेशमा २ वटा जिल्लामा परीक्षण सुरु हुन बाँकी छ। बागमती र सुदुरपश्चिम प्रदेशको सबै जिल्लामा परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले बताए। आरडीटी परीक्षणका क्रममा विभिन्न पोजेटिभ भेटिएपनि पीसीआरबाट परीक्षण भएपछिको नतिजा मात्र सार्वजनिक गरिने उनले बताए।
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ। उक्त अवधिमा नयाँ संक्रमित नभेटिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। नेपालमा हालसम्म १५ हजार ८ सय जनाको नमूना परीक्षण भएको छ।
उनले काठमाडौं पेप्सीकोलाको टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्ट बस्ने तीन जनाको आरडिटीमा पोजेटिभ रिपोर्ट आएपनि पिसिआरमा एक जनाको रिपोर्ट नेगेटिभ समेत बताए।
लण्डनबाट फर्किएका एकै परिवारका तीन जनाको आरडीटीबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको पुनः परीक्षण गरिएको थियो । पिसिआरबाट गरिएको परीक्षणका क्रममा दुई जनाको रिपोर्ट पोजेटिभ आएपनि एकको रिपोर्ट नेगेटिभ आएको थियो । उनको थप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा संख्या मन्त्रायलयले जनाएको छ। संक्रमित दुई जना पाटन अस्पतालमा भर्ना भई उपचाररत छन्।
उक्त अपार्टमेन्टमा रहेकामध्ये मन्त्रालयले हालसम्म २ सय ९८ जनाको आरडीटीबाट कोरोना परीक्षण गरेको छ। जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। हाल ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा छन्। काठमाडौंमा ११ र बाहिर १ सय ६ गरी जम्मा १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।