काठमाडौं- नेपाल प्रहरीमा रिक्त रहेको १० डिआइजी पदका लागि बढुवा सिफारिस समितिले १० जना एसएसपी नाम सिफारिस गरेको छ। गृह मन्त्रालयका सचिव अध्यक्ष, आइजी सदस्य र आइजीले तोकेको एक एआइजी सदस्य सचिव रहेको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त १० डिआइजीका लागि १० एसएसपीको नाम सिफारिस गरेको हो ।
शुक्रबार दिनभर बढुवा सिफारिसको रस्साकस्सी चलेको थियो। ३४ पद घटेर २२ भएपछि डिआइजीका आकांक्षी ३४ एसएसपीबीच बढुवाका लागि रस्साकस्सी थियो। बढुवा सिफारिसको सूची बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं चासाे राखेपछि गृह सचिव सूची बोकेर आफैं प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
प्राविधिकतर्फ ८ र जनपदमा १४ दरबन्दी कायम भए पनि पहिल्यै चार जना डिआइजी रहेकाले शुक्रबार १० जनाको नाम सिफारिस भएकाे हो। गृह मन्त्रालय स्रोतका अनुसार बढुवा सिफारिस समितीले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्त लामा, रबिन्द्रबहादुर धानुक,उत्तमराज सुवेदी र अरुण कुमार बिसीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेकाे हाे।
अहिलेको बढुवा सिफारिसमा चित्त नबुझ्ने प्रहरी अधिकारीले एकसाता भित्र उजुरी दिन सक्ने कानूनी व्यवस्था छ ।
को-को छुटे बढुवामा
डिआइजी सिफारिसमा अहिले एआइजीमा बढुवा भएका शैलेश थापा क्षेत्री ब्याचकै एसएसपीहरू समेत छुटे। क्षेत्रीका ब्याचका गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, देबहादुर बोहरा सिफारिसमै परेनन्। केही राम्रा प्रहरी अधिकृतहरु समेत सिफारिसमा अटाउन सकेनन्।
दिवेश लोहनी, सौरभ राणा, रामकृपााल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ पनि बढुवामा छुटे। जनपद प्रहरीमा महिला डिआइजी हुने लाइनमा थिइन् पूजा सिंह। तर उनी सिफारिसमै परिनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।