काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषिमात्र उत्तम विकल्प भएको बताएका छन्। नेता पौडेलले शुक्रबार फेसबुक लाइभमार्फत नेपालको अर्थतन्त्रका आधारहरु ऊर्जा, पर्यटन र कृषिमध्ये ऊर्जा र पर्यटनको संभावना कोरोनाका कारण न्यून भएकाले कृषिमात्र विकल्प भएको बताए।
उनले कृषिको विस्तारले मुलुकको आयत र रेमिट्यान्स प्रतिस्थापन गर्ने भएकाले अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताए। पौडेलले कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको बजारलाई विस्तार गरेर बिचौलियाको राज अन्त्य गर्न जरुरी भएको बताए। उनले नेपालका उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरी जग्गाको उपयोग गर्नुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले लकडाउनको अवस्थामा पनि कृषि उपजलाई बजारमा पठाउन रोक नलगाउन समेत आग्रह गरे। पौडेलले किसानको उत्पादन नष्ट हुने तर बजारको अभावलाई अन्त्य गर्नका लागि कृषि लकडाउनको अवस्थामा पनि कृषि उपजलाई बजारमा ल्याउने व्यवस्था गर्न माग गरे।
नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिनुपर्ने बताए। उनले जनताको सेवा र जनतालाई टेवा दिनका लागि सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।