काठमाडौं- अमेजनका मालिक जेफ बेजोस लगातार तेस्रो वर्ष विश्वकै सबैभन्दा धनाढ्य बनेका छन्। फोर्ब्स म्यागेजिनले सार्वजनिक गर्ने यो सूचीमा ११४ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक उनी विश्वकै धनी व्यक्तिको पहिलो नम्बरमा रहन सफल भएका हुन्।
कोरोना भाइरसको माहामारीका कारण विश्वभरको इक्विटी बजारमा आएको उतारचढावले गत वर्षको तुलनामा यो वर्ष विश्वमा अर्बपतिको संख्या घटेको छ। फोर्ब्सले १८ मार्चमा यो सूचीलाई अन्तिम रुप दिँदा गत वर्षको तुलनामा ५८ जना कम र मार्च १८ भन्दा १३ दिन अघिको तुलनामा २२६ जना कम अर्बपति सूचीमा अटाएका छन्।
करिब ४० अर्ब डलरको पारपाचुके मुद्दा मिलाए पनि उनी यो सूचीमा पहिलो स्थानमा नै रहन सफल भएका छन्। अमेरिकी सञ्चारमाध्यम सिएनएनले उनले ३८ अर्ब अमेरिकी डलरमा पारपाचुके मुद्दा मिलाएको उल्लेख गरेको थियो।
फोर्ब्सको सूचीमा रहेका अर्बपतिमध्ये ५१ प्रतिशतले गत वर्षको तुलनामा सम्पत्ति गुमाएका छन्। फोर्ब्सका अनुसार संसारका अर्बपतिसँव ८ हजार अर्ब अमेरिक डलर सम्पत्ति छ जुन गत वर्षको तुलनामा ७०० अर्ब डलर कम हो।
फोर्ब्सको यो सूचीमा माइक्रोसफ्टका मालिक बिल गेट्स दोस्रो नम्बरमा छन्। उनको सम्पत्ति ९८ अर्ब अमेरिकी डलर छ। सूचीको तेस्रो स्थानमा बर्नान्ड अर्नल्ट र उनको परिवार छ। उनीहरुसँग ७६ अर्ब डलर सम्पत्ति छ।
चौथो स्थानमा कुनै बेलाका धनाढ्य वारेन बफेट छन्। उनको सम्पती ६७.५ अर्ब अमेरीक डलर छ। पाचौँ स्थानमा ल्यारी इलिसन ५९ अर्ब डलर सम्पत्तिसहित रहन सफल भएका छन्।
चिनियाँ व्यवसायी ज्याक मा २० औँ स्थानमा छन्। भारतीय व्यवसायी मुकेश अम्बानी २१ औँ स्थानमा रहन सफल भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १०८८ औँ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।