एजेन्सी–कोरोना भाइरस संक्रमण सुरु भएपछि चीनमा पहिलो पटक मृत्यु र स्थानीय संक्रमणका कुनै नयाँ केस आएनन्। चीनको राष्ट्रिय स्वास्थ्य कमिसनलाई उदृत गर्दै सीएनएनले सोमबार चीनमा कोरोना भाइरसबाट कसैको पनि ज्यान नगएको र स्थानीयमा कुनै नयाँ संक्रमण नदेखिएको उल्लेख गरेको छ।
चीनमा नयाँ ३२ वटा केस देखिए। तर ती सबै विदेशबाट आएकाहरुमा देखिएका हुन्। जनवरीको अन्त्यतिर चीनमा कोरोना भाइरस देखिएपछि ८१ हजार ७ सय ४० जनामा संक्रमण भएको थियो भने तीन हजार तीन सय ३१ जनाको ज्यान गइसकेको छ।
७७ हजार १ सय ६७ जना उपचारपछि निको भएका छन्। चीनको वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको थियो। लामो समय लकडाउनमा रहेको चिनियाँ सहरको जनजीवन सामान्य बन्दै गइरहेको छ। स्थानीय प्रशासनले कोरोना संक्रमण नभएको ग्रिन क्युआरकोड भएकाहरुलाई आवागमनमा छुट दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।