धनगढी- सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका परिवारका सदस्यसहित १३ जनाको नमूना संकलन गरिएको छ। संक्रमित भएकाकाे परिवारका १० जना, दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका गरी १३ जनाको थ्रोट स्वाब संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ।
शनिबारदेखि धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका परिवारका सदस्यलाई हिजोमात्रै घर फिर्ता गरिएकोमा आज फेरि अस्पताल ल्याएर नमूना संकलन गरिएको हो। अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले परीक्षणका लागि भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाउने तयारी भइरहेको बताए।
धनगढीमा स्थापना हुने भनिएको प्रयोगशाला तयार नभएकाले काठमाडौँ पठाउने तयारी भइरहेको उनले बताए। उनका अनुसार परिवारका सदस्यसँगै दुई जना स्वास्थ्यकर्मी र भारतको दिल्लीबाट आएर धनगढी रंगशालाको क्वारेन्टाइनमा राखिएका थप एक जनाको काेराेना परीक्षणका लागि थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने छ।
यसअघि परिवाकरा सदस्यमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै नमूना संकलन गरिएको थिएन। नमूना संकलनपछि भने उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्न पठाइएको छ। सेती अस्पतालबाट यसअघि २५ जनाको स्वाब पठाइएकोमा २० जनाको रिर्पोट आएको छ। जसमा एक जनाको पोजेटिभ र बाँकी १९ जनाको नेगेटिभ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।