काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राज्य र निजी अस्पतालले अमानवीय व्यवहार प्रदर्शन गरेको बताएका छन्।
भारतीय सीमामा नागरिकप्रति सरकारले गरेको व्यवहार र निजी अस्पतालले बिरामीलाई फिर्ता गर्नु निर्दयीपन भएको बताए।
‘अस्पतालले बिरामी अनिवार्य जाँच्नुपर्छ। यो अदालतले आदेश दिइरहनुपर्ने विषय होइन। सामाजिक सञ्जालमा नेता पौडेल लेख्छन्, ‘संसारमा कुनै पनि संविधानले अस्पतालले बिरामी जाँच्नु नपर्ने छुट दिएको छैन।’
राज्यसंग सुविधा लिएका निजी अस्पतालले गेटबाट बिरामी फिर्ता गराउनु अमानवीय व्यवहार भएको उनले बताए।
नेपाली सीमा धार्चुलाबाट पौडी खेलेर महाकाली नदी पार गरी नेपाल प्रवेश गरेका नागरिकलाई प्रहरीले नियन्त्रण लिएको घटनाप्रति आपत्ति जनाए। आफनो देश सम्झेर आएकाहरूप्रति राज्य सहयोगी हुनुपर्नेमा उल्टै तिरस्कार गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
नेता पौडेल भन्छन्, ‘देश प्रवेशमा रोक लगाएर नागरिक हक खोस्न पाइँदैन। देशभित्र क्वारेन्टाइनको व्यवस्था गरेर उनीहरूलाई ल्याउनुपर्छ। विपद्को घडीमा राज्य यस्तो निर्दयी हुन मिल्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।