काठमाडौं- कोरोना नियन्त्रणका लागि चीनमा खरिद गरिएको सामाग्री उच्च मूल्यको रहेको भन्दै आलोचना भएपछि स्वास्थ्य मन्त्रालयलयले विश्वव्यापी रुपमै सामानको अभाव रहेकाले स्वास्थ्य सामाग्रीको मूल्य केही बढी भएको दाबी गरेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले नेपाललाई सामान दान दिने अलिबाबा लगायतकाको मूल्यसूची पनि पहिलाको भन्दा बढी भएको तर्क गर्दै नेपालले खरिद गरेको सामानमा कुनै बदमासी नभएको दाबी गरेको हो। तर नेपालले खरिद गरेको मूल्य अलिबाबालगायतकाले सहयोग गरेको सामानको मूल्यभन्दा पनि निक्कै उच्च छ।
नेपालमा पहिलो केस देखिएर २३ जनवरीमा निदान भए लगत्तै कोरोनासम्बन्धी स्वास्थ्य सामाग्री किन्न खोजेको र त्यसका लागि टेन्डर गर्दा पनि नपरेपछि यस्ता सामान आपूर्ति गर्नेहरूको बैठक बसेको श्रेष्ठको दाबी छ।
२४ घन्टाको समय दिएर स्वास्थ्यका सामान ल्याउने डिलरसँग सामान ल्याउनेबारे कुरा गर्दा ५-६ जनाले छ भनेको तर २ जनाको मात्र प्रस्ताव गरेको श्रेष्ठले दाबी गरे। ती २ डिलर कुन कुन हुन् सो भने मन्त्रालयले केही पनि खुलाएन।
'अहिले स्वास्थ्यको सामान ग्लोबल सर्टेज छ। त्यसैले केही महंगो भएको हुनसक्छ,' पत्रकार सम्मेलनमा श्रेष्ठले भने, 'अभावका बीचमा किन्दा पहिलेको भाउमा पाइँदैन। दाताहरुले दिएको रेट पनि पहिलाको भन्दा बढी छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।