काठमाडाैं- समाजवादी पार्टी नेपालले कोरोना भाइरस नियन्त्रण केन्द्रीय सरकारी कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसले नेपालमा समेत असर पारेकाले राहत स्वरुप १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले बताए।
‘हामीले दिने भनिएको १० लाख आफ्नाे प्रतिनिधिसभा र प्रदेशसभा सांसदबाट उठाएर दिने भनेका छौं। यदी त्यहाँबाट पुगेन भने पार्टीका विभिन्न पदका नेताहरुले उठाएर दिने निर्णय गरेका छौ,’ श्रेष्ठले भने, ‘विपत्तिको बेला सबैले आ–आफ्नोबाट सहयोग गर्नुपर्छ। त्यो हामी नेपालीको संस्कार नै हो।’
कोरोना भाइरस नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले निजी संघसस्थालाई कोष बनाउन नदिएपछि पार्टी, संघसस्था र व्यक्तिले सरकारी कोषमा रकम जम्मा गर्ने निर्णय गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।