काठमाडौं–सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन्। त्यसअवसरमा सचिव बिडारीले यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्ने बताए।
एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले आफूहरुको योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।