काठमाडौं- सरकारले निजी व्यक्ति, संघसंस्थाले कोरोना नियन्त्रणसम्बन्धी कोष खडा गर्न नपाउने निर्णय गरेको छ। मंगलबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले निजी संघसंस्था र व्यक्तिले कोष खडा गरेको भए हप्ता दिनभित्रै केन्द्रीय कोरोना नियन्त्रण तथा रोकथामसम्बन्धी कोषमा जम्मा गर्न निर्देशन दिएको छ।
सरकारले कोरोना नियन्त्रणसम्बन्धी केन्द्रीय कोष खडा गरेकाले सबै संघसंस्था र व्यक्तिले यहि कोषमा जम्मा गर्नुपर्ने अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताए। ‘हामीले कोष खडा गरी सकेका छौै। यस्तो अवस्थामा यहि कोषमा रकम जम्मा गर्नु नै सबैभन्दा राम्रो हुन्छ।’
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भने, ‘यदी यो निर्णय हुनुभन्दा अघि कुनै संघ सस्थाले कोष खडा गरी सक्नु भएको छ भने हप्ता दिनभित्रै रकम जम्मा निर्देशन दिएका छौं।’ कतिपय सघ संस्थाले कोरोना भइरस नियन्त्रणसम्बन्धी कोष खडागरी पैसा उठाउन थालिसकेका थिए।
विगतमा यस्ता कोष खडा गरी आर्थिक पारदर्शिता नभएपछि सरकारले सबै रकम केन्द्रीय कोषमा जम्मा गर्न निर्देशन दिएको हो। समिति बैठकले कोरोना भाइरस नियन्त्रणसम्बन्धी सबै निर्णय सबै नेपालीहरुले पालना गरेकोमा धन्यवाद समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।