काठमाडौं- अमेरिकामा बसिरहेका नेपाली युवा दिवेश पोखरेलले अमेरिकन आइडलमा दास्रो चरणकाे प्रस्तुती दिएका छन्। अर्थर गनका रुपमा परिचित उनले पहिलाे चरणकाे प्रस्तुतीमा छनाेट भएपछि दोस्रो प्रस्तुती दिएका हुन्।
उनले द ब्ल्याक क्रोजको हार्ड टु ह्यान्डल बोलको गीत गाएका थिए। उनले स्टेजमा नमस्ते भन्दै अभिवादन गर्दा दर्शकदीर्घाबाट कसैले नमस्ते भन्दा जजहरु पछाडि फर्किएका थिए। त्यसरी नमस्ते फर्काउनेमा उनकै दिदी रुपा थिइन्। दिदीले नमस्ते फर्काउँदा उनी हल्का लजाएका थिए।
दिवेशले तोकिएको समयभित्रै आफ्नो प्रस्तुती दिएका थिए। तर, जजहरुको मन भने तोकिएको समयमा भरिएन। जज केटी पेरी, लियोनल रिची र लुक ब्रायन आफ्नो ठाउँबाट उठेर उनलाई गीत निरन्तर गाइरहन आग्रह गरे। जजहरुको आग्रह टार्न सकेनन् उनले र गितारमा आफ्नो औंला नचाउन थाले। जब उनको पालो सक्कियो। जज खुसी भएर बब मार्ली सम्झिए।
दिवेशका रुम पार्टनर एलेक्स परेका थिए। उनीहरु कुरा गर्दै होटल रुममा पुगे। कुराकानीका क्रममा दिवेशले आफू नेपालबाट आएको बताएपछि एलेक्सले प्रतिक्रिया दिन्छन्, ‘ओ माउन्ट एभेरेष्ट।’
प्रस्तुती सक्किएपछि प्रतिक्रिया दिँदै दिवेशले दर्शक र जजहरुसँग कनेक्ट भएर गीत गाउँदा र सबै जजहरु उठ्दा खुसी लागेको बताए।
उनी ६ वर्ष अगाडि उच्च शिक्षाका लागि अमेरिका पुगेका थिए। उनी अमेरिकामा दिदीसँगै बस्दै आएका छन्। उनको दोस्रो प्रस्तुतीमा उनकी दिदी रुपा पनि दर्शकको रुपमा उपस्थित थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।