काठमाडौं– कोरोना भाइरसको विश्वव्यापी संक्रमणपछि सरकारले संक्रमण रोक्न गरेको १९ बुँदे निर्णयमा हलमा फिल्म हेर्न नजान पनि आग्रह गरिएको छ। सरकारले नागरिकलाई फिल्म हेर्न नजानु भन्ने आग्रह गर्नु अगाडि नै हलहरु सुनशान भइसकेका छन्।
कोरोना त्रासले हल सुनसान भइसके पनि हल सञ्चालकहरुले भने हल बन्दको निर्णय गर्न सकेका छैनन्। अहिले नयाँ नेपाली फिल्म रिलिज भएका छैनन्। रिलिजकाे डेट बुक गरेका फिल्मले रिलिज समय सारिरहेका छन्।
नेपाली हलमा नेपालीपछि रिलिज हुने फिल्म भारतीय नै हो। कोरोना प्रभावका कारण हिन्दी फिल्महरुकाे पनि एकपछि अर्को रिलिज डेट सरिरहेको छ। मार्च २४ मा रिलिज हुने भनिएको भारतीय फिल्म सूर्यबंशीले समेत आफ्नो रिलिज डेड सारिसकेको छ। बलिउड मात्रै हैन हलिउडका फिल्म पनि एकपछि अर्को गर्दै रिलिज स्थगित भइरहेका छन्। बहुप्रतिक्षित फिल्म ‘मुलान’को रिलिज स्थगितको घोषणा भइसकेको छ।
एक त नयाँ फिल्म रिलिज भएका छैनन्। भीडभाडमा जाँदा कोरोना भाइरस सर्ने जोखिमका कारण अहिले दर्शक फिल्म हल पुगेर मनोरञ्जन गर्ने मुडमा छैनन्। तै पनि हल सञ्चालकहरुले हल बन्दको औपचारिक निर्णय भने गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।