काठमाडौं- सहिद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब र खुमलटार युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। बिहीबार भएको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेका हुन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा टुसालका लागि मोहित गुरुङ र सन्तोष दाहालले गोल गरे। यता, खुमलटारका लागि महेश राई र कप्तान सविन केसीले गोल गरे।
खेलको सातौं मिनेटमा नै मोहितले गोल गर्दै टुसाललाई अग्रता दिलाएका थिए। तर खेलको १६औं मिनेटमा महेशले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरी दिलाए। ३०औं मिनेटमा कप्तान सविनले गोल गर्दै पहिलो हाफसम्म खुमलटारलाई २–१ गोलको अग्रता दिलाए।
तर पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा खुमलटारले टुसालसँग अंक बाँड्न पुग्यो। खेलको ६२औं मिनेटमा सन्तोषले गोल गर्दै टुसाललाई २–२ गोलको बराबरी दिलाए। बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि समान १–१ अंक बाँडेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।