काठमाडौं- करिष्मा मानन्धरले धेरै वर्षदेखि नबिराई आफ्नो घरमा भव्य होली मनाइरहेकी थिइन्। नेपालका चर्चितभन्दा चर्चित कलाकार उनको घरमा होली खेल्न पुग्थे। दिनभरि चल्ने होलीको रौनक राम्रोगरी महशुस हुन्थ्यो, गोदावरीस्थित उनको घरआँगनमा।
तर, यसवर्ष करिष्माको होलीको रंग कोरोनाले उडायो। उनले होलीको आयोजना गरिनन्। कलाकारहरु पनि कोरोना त्रासले भीडभाडमा होली खेल्नबाट डराइरहेका छन्।
यसपल्ट एकै ठाउँमा भेला भएर रङ दल्न र रमाइलो गर्न नपाएको उनले फेसबुकमा उल्लेख गरेकी छन्। उनले सामाजिक सञ्जालबाटै शुभकामना आदानप्रदान गर्नुपरेको बताउँदै भनेकी छन्, ‘हामी यसरी होली खेलौं (किनभने यसपल्ट हामी एकअर्कालाई भेट्दैनौं र रंग खेल्दैनौं)। रातो तपाईंको निधारमा, हरियो तपाईंको गालामा, पहेंलो तिम्रो नाकमा र गुलावी र सेतो जताततै।’
होलीको दिन नै उनका श्रीमान् बिनोद मानन्धरको जन्मदिन पनि हो। त्यसैले दोहोरो उत्साह हुन्थ्यो उनको घरमा। तर, यसपल्ट कोरोनाले त्यस्तो गर्न नपाएको निराशा उनले दुईजना एक्लै बसिरहेको तस्बिर प्रस्तुत गरेर पोखेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।