काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका कप्तान विराट कोहलीलाई सबैभन्दा बढी आउट गर्ने बलर हुन्, न्युजिल्याण्डका टिम साउथी। यसैले न्युजिल्याण्डविरुद्ध जतिबेला कोहली क्रिजमा हुन्छन् बलिङमा साउथी देखापर्छन्। भारतविरुद्धको टेस्ट सिरिजमा न्युजिल्याण्डले क्लिन स्वीप गर्दा पनि ठीक त्यस्तै देखियो।
वेलिङटनमा भएको पहिलो टेस्टमा न्युजिल्याण्डले भारतलाई १० विकेटले हराएको थियो। क्रिस्टचर्चमा भएको दोस्रो टेस्ट ७ विकेटले जित्दै न्युजिल्याण्डले सिरिज क्लिन स्वीप गर्यो। पहिलो टेस्टको पहिलो इनिङमा साउथीले विराटलाई बलिङ गर्न पाएनन्। किनभने ७ बल मात्र खेलेका कोहली २ रनमा नै केल जेमिन्सनको बलमा आउट भइहाले।
पहिलो टेस्टको दोस्रो इनिङमा ब्याटिङमा विराट कोहली आउनेवित्तिकै बलिङमा टिम साउथी आइनै हाले। पहिलो ड्रिङ्स ब्रेक अघि चेतेश्वर पुजारालाई ट्रेन्ट बोल्टले बोल्ड आउट गरिदिएका थिए। ड्रिङ्स ब्रेक सकिएपछि कोहली ब्याटिङमा देखिए भने बलिङमा आए साउथी।
साउथी भर्सेस कोहलीलाई हेर्दा ३२ बलमा १६ रन भएको थियो। कोहलीले सिरिजमा नै हेर्दा सबैभन्दा बढी ज्यामिन्सनको ४५ बलको सामना गरेको देखिन्छ। पहिलो इनिङमा कोहली जसरी आउट भएका थिए, दोस्रो इनिङमा पनि ज्यामिन्सन त्यही शैलीमा बलिङ गर्दै थिए। प्राय त सट बल फालेर कोहलीलाई पछाडि हटेर नै खेल्न बाध्य पारिरहेका थिए।
सिरिजभर हेर्दा कोहलीले बोल्टको जम्मा आठ बलको सामना गरे। किनभने धेरै भिन्न बलरलाई खेल्ने गरी कोहली लामो समय क्रिजमा टिक्दै टिकेनन्। अर्को त को ब्याट्सम्यानलाई को बलर खेलाउने भन्ने न्युजिल्याण्डको स्पष्ट योजना थियो। साउथीले सबैभन्दा बढी ८१ बल अजिन्का राहानेविरुद्ध गरेका थिए। यस्तै बोल्टले पुजाराविरुद्ध ९९ बल गरेका थिए।
फास्ट बलिङलाई लिएर भारतविरुद्ध आफूहरुले बनाएको योजनामा न्युजिल्याण्डका प्रशिक्षक ग्यारी स्टिड भन्छन्- ‘हामीले टिमलाई एकरुपमा अघि बढाउन नयाँ शैलीहरु अपनाएका थियौँ। हामीले स्पिनर खेलाउँदा पनि अलराउण्डर होस् भन्ने सोचेका थियौँ। तर दोस्रो टेस्टमा पाँच जना फास्ट बलरलाई खेलायौँ। कुनै बेला त्यसको ब्यवस्थापन अप्ठ्यारो पर्न सक्ने भए पनि केन विलियम्सनले निकै राम्रो कप्तानी गरेकाले कठिन भएन।’
एकै रुपमा बलर र ब्याट्सम्यानलाई त्यसरी मिलाएर खेलाउनु सधैँ उपयुक्त नहुन पनि सक्छ। भारतले त्यस्तो सिरिजभर गरेन पनि। दुवै टेस्टमा उनीहरुसँग तीन जना फास्ट बलर मात्र खेलेका थिए। तर न्युजिल्याण्डसँग पहिलो टेस्टमा चार जना र दोस्रो टेस्टमा पाँच जना फास्ट बलर थिए।
फास्ट बलर नै भए पनि उनीहरु सबैको फरक शैली पनि न्युजिल्याण्डको राम्रो पक्ष थियो। साउथीको नयाँ बलमा स्वीङ, जेमिन्सनको बाउन्स, कोलिन डे ग्रान्डहोमको मिडियम पेस र दुई देब्रे हाते बोल्ट र वाग्नरको पनि भिन्न शैली रह्यो। उनीहरुको तरिका भिन्न भए पनि सबैले सम्हालिएर बलिङ गर्ने र लाइन लेन्थ मिलाउने काम भने राम्ररी गरे।
बलरको खुबीले गर्दा नै उनीहरुले ब्याट्सम्यान हेरेर बलरको प्रयोग गर्न पाए। त्यसले भारतीय ब्याट्सम्यानले टिकेर खेल्ने अवसर नै पाएनन्। उनीहरु हरेक इनिङमा झण्डै उस्तैगरी आउट भए। दोस्रो टेस्टमा मयङ्क अग्रवाललाई बोल्टले उसैगरी एलबिडब्ल्यू आउट गरे। पुजारालाई पनि सिरिजमा दुईपटक बोल्टले नै लेफ्ट आर्म ओभर बलमा आउट बनाए। कोहली दुई पटक एलबिडब्लू आउट हुँदा बल उस्तै नै थियो, सरफेसभन्दा बाहिर स्वीङ गरिएको बलमा।
न्युजिल्याण्डले विलिङटन र क्रिस्टचर्चको पिचको अवस्था पनि राम्ररी बुझेर आफ्ना बलरहरु प्रयोग गरेको थियो। न्यु्जिल्याण्डको फास्ट बलिङको अट्याकमा विशेष त सट बल नै भारतीय ब्याट्सम्यानको मुख्य समस्या देखियो। खराब बल कुरेर सट खेल्ने भारतीय शैली न्युजिल्याण्डविरुद्ध देखिन सकेन। त्यही बलिङ शैली भारतीय फास्ट बलरले भने पछ्याउन सकेनन्।
पहिलो टेस्टको पहिलो इनिङमा भारत १ सय ६५ रनमा नै अलआउट भयो। जहाँ न्युजिल्याण्डले पहिलो इनिङमा ३ सय ४८ रन बनायो। भारत दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्याण्डले ९ रनको मात्रै लक्ष्य पायो र १० विकेटले खेल जित्यो।
दोस्रो टेस्टको पहिलो इनिङमा भारत २ सय ४२ रनमा अलआउट भयो। न्युजिल्याण्डले आफ्नो पहिलो इनिङमा २ सय ३५ रन मात्रै बनाउन सक्यो। भारत दोस्रो इनिङमा भने १ सय २४ रनमै अलआउट भयो र न्युजिल्याण्डले १ सय ३२ रनको लक्ष्य तीन विकेट गुमाएर भेट्टायो।
‘यो सिरिजमै हाम्रो खेल निकै बिग्रिएको हो’ भारतका कप्तान विराट कोहली भन्छन्, ‘हामी चाहिने जस्तो सकरात्मक पनि हुन सकेनौँ र सम्हालिएर खेल्न पनि सकेनौँ।’
दुई टेस्टको चार इनिङ हेर्दा कोहलीको आफ्नै उच्च स्कोर १९ रन मात्रै रह्यो। यसले विश्व टेस्ट च्याम्पियनसिपमा शीर्ष स्थानमा रहेको भारतलाई धक्का लाग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।