भैरहवा- भैरहवा क्विन्स प्रालिको आयोजना तथा राइनो स्पोर्ट्सको संयोजनमा फागुन १४ (आज)देखि २१ गतेसम्म भैरहवामा एसिएन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश तथा पाकिस्तानका व्यवसायिक क्लबहरुको सहभागिता रहने आयोजकले जानकारी दिएकाे छ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा असक ग्लोबल क्रिकेट क्लब बंग्लादेश, अल्पा वारियर्स भारत, शोबिज स्पोर्ट्स नेपाल, सराह क्रिकेट क्लब नेपाल, शंकरनगर क्रिकेट क्लब नेपाल, गुजरात लायन्स पाकिस्तान, राइनो क्रिकेट क्लब नेपाल गरी ८ क्लबको टिमहरुको सहभागिता रहेको भैरहवा क्विन्स प्रालिका कार्यकारी निर्देशक निरज अर्यालले बताए।
प्रतियोगितामा प्रथम हुनेले ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छ। रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टिमहरुलाई ४/४ टिम गरी दुई समूहमा विभाजन गरिने र हरेक समुहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने अर्यालले जानकारी दिए। प्रत्येक दिन दुईवटा खेल हुने उनले बताए।
प्रतियोगिता आयोजना गर्न करिब १६ लाख लाग्ने प्रतियोगिताका संयोजक शुशिल पाण्डेले बताए। एसिएन च्यालेन्जर ट्रफी (क्लब)ले धुर्मुस सुन्तली फाउण्डेशनको सहकार्यमा रंगशाला निर्माणमा सहयोग गर्ने अभियानसमेत सञ्चालन गरेको पाण्डेले जानकारी दिए। रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले रुपन्देहीमा यस्ता प्रतियोगिताले निरन्तरता पाए यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।