काठमाडौं- सहिद स्मारक बि डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले विजयी सुरुवात गर्दा अर्को खेलमा भने रानीपोखरी कर्नर टिम (आरसिटी) बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सातदोबाटो युथ क्लबले नयाँबस्ती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो। दुबै गोल प्रवेश बस्नेतले गरे।
खेलको ५९औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका प्रवेशले खेलको ८२औं मिनेटमा गोल गर्दै २–० गोलको जित दिलाए।
त्यस्तै, मंगलबार नै भएको अर्को खेलमा झम्सिखेल युथ क्लब र आरसिटीले १–१ गोलको बराबरी खेलेका छन्। खेलको २८औं मिनेटमा आरसिटीका कप्तान अमर डंगोलले गोल गर्दै अग्रता दिलाएका थिए। तर अन्तिम मिनेटमा सम्हालिन नसक्दा झम्सिखेलसँग आरसिटीले १–१ गोलको बराबरी खेलेको हो। खेलको अतिरिक्त समयमा झम्सिखेलका लागि अनिष चौधरीले गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।