काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट प्रतियोगितामा च्याम्पियन बन्ने बताएका छन्।
कीर्तिपुरमा प्रतियोगिताका लागि आज (मंगलबार) अन्तिम अभ्यास तयारी गरेपछि कप्तान ज्ञानेन्द्रले नेपाल च्याम्पियन बन्ने बताएका हुन्। थाइल्यान्डमा फागुन १७ देखि २३ गतेसम्म प्रतियोगिता हुँदैछ।
प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङ रहेका छन्। म्यानमार, चीन र भुटानले कोरोना भाइरसको कारण प्रतियोगितामा नखेल्ने निर्णय गरेपछि पाँच राष्ट्रको सहभागिता हुने भएको हो।
कप्तान ज्ञानेन्द्रले नेपालभन्दा कमजोर टिम प्रतियोगितामा खेल्न नआउने भएपछि झनै चुनौती थपिएको बताए।
‘राम्रो तयारी छ। ३ वटा टिम नआउने भन्दा पनि हाम्रो लक्ष्य भनेको जित्ने हो। अब ३ वटा टिम नआउँदा सजिलो त होइन। अन्य टिम पनि बलियो नै छ। जुन टिम आएन त्यो हामी भन्दा कमजोर नै थिए। छनोट हुने हो भने हामीले राम्रो क्रिकेट खेल्नु पर्छ’, उनले भने।
टि–२० क्रिकेटमा जे पनि हुन सक्ने भन्दै राम्रो खेल्न सके नेपाल च्याम्पियन बन्ने उनको दाबी छ। ‘हाम्रो लक्ष्य भनेको च्याम्पियन बन्ने नै हो। टि–२० क्रिकेट हो। एक ओभरले पनि खेल परिवर्तन हुन सक्छ। त्यसैले आफ्नो खेलमा ध्यान दिनु पर्छ जस्तो लाग्छ।’
फागुन १७ गते दुई खेल हुँदै छन्। उद्घाटन खेलको रुपमा आयोजक थाइल्यान्डले सिंगापुरसँग प्रतिस्पर्धा गर्दा नेपालले मलेसियासँग खेल्ने छ। त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा १८ गते हङकङसँग, २१ गते आयोजक थाइल्यान्डसँग र आफ्नो अन्तिम खेल भने २३ गते शुक्रबार सिंगापुरसँग खेल्नेछ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ। नेपाली टिममा भुवन कार्कीले पुनरागमन गरेका छन्। त्यस्तै, किशोर महतो पलिहो पटक टिममा परेका छन्।
नेपाली टिमः
ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
पारस खड्का
विनोद भण्डारी
आरिफ शेख
करण केसी
सन्दीप लामिछाने
अविनाश बोहरा
कुशल मल्ल
सुशन भारी
पवन सर्राफ
सन्दीप जोरा
किशोर महतो
भुवन कार्की
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।