काठमाडौं- सहिद स्मारक बि डिभिजन लिग फुटबलमा ब्वाइज युनियन र बाँसबारी क्लबले विजयी सुरुवात गरेका छन्।
आइतबार भएको उद्घाटन खेलमा ब्वाइज युनियन क्लबले श्री कुमारी क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाइज युनियनलाई जिताउन ब्रतमान राई र प्रदीप बोगटीले गोल गरे।
खेलको पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको ब्वाइज युनियनले दोस्रो हाफमा १ गोल थप्दा श्री कुमारी क्लब भने निरिह बन्यो। खेलको ४१औं मिनेटमा ब्रतमानले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए। खेलको ७६औं मिनेटमा प्रदीपले गोलगरेसँगै ब्वाइज युनियनले श्री कुमारी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो।
त्यस्तै, आजै एन्फामै भएको अर्को खेलमा बाँसबारी क्लबले श्री भवगती क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ। बाँसबारीको जितमा सुलेमान थापा मगरले खेलको ६३औं मिनेटमा गोल गरे।
बि डिभिजन लिगमा ब्वाइज युनियन, श्री भगवती क्लब, टुसाल क्बल, खुमालटार युथ क्लब, नयाँवस्ती युवा क्लब, झम्सीखेल युथ क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्ट्स क्लब, बाँसबारी क्लब र श्री कुमारी कलब रहेका छन्।
सिंगल राउण्ड रोविनमा हुने बि डिभिजन लिगको समापन चैत्त २३ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।