काठमाडौं– च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो खेलमा एथ्लेटिको मड्रिडसँग १–० ले हारेपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले खेल अझै बाँकी रहेकाले खुसी हुने बेला आइनसकेको भन्दै चेतावनी दिएका छन्।
एथ्लेटिको मड्रिडको मैदानमा भएको पहिलो लेगमा खेलको चौथो मिनेटमा नै साउल निग्वेजको गोलमा एथ्लेटिकोले अग्रता बनाएको थियो। त्यसपछि दुवै टिमले गोलका केही अवसर खेर फाले र गोल हुन सकेन।
गएको वर्ष च्याम्पियन्स लिग सेमिफाइनलमा पहिलो लेगमा बार्सिलोनासँग ३–० ले हारेर दोस्रो लेगमा घरेलु मैदानमा लिभरपुलले बार्सिलोनालाई ४–० ले हराएको थियो।
यसैले पनि घरेलु मैदानमा उत्कृष्ट कमब्याकका लागि चिनिएको लिभरपुल अहिले एथ्लेटिकोसँगको १–० को हारले समस्यामा नपर्ने विश्वास टिममा छ।
‘यो नतिजाले मलाई समस्या छैन। एथ्लेटिकोमा धेरै अनुहारहरु असाध्यै खुसी देखेँ, यो ठूलो जित भएकाले त्यो स्वभाविक होला तर खेल अझै सकिएको छैन’ लिभरपुल प्रशिक्षक क्लोपले खेलपछि भने।
यस्तै एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले आफूहरुले विश्वको उत्कृष्ट टिमलाई हराएको बताए। ‘विश्वको उत्कृष्ट टिम हाम्रो मैदानमा आयो र हामीले उनीहरुलाई हरायौँ। खेल सकिएको त छैन। लिभरपुल आफ्नो मैदानमा निकै राम्रो छ’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।