काठमाडौं- प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको १४औं एनएनआइपिए स्पोर्ट्स अवार्ड २०७५ मा पुरुषतर्फ उत्कृष्ट प्याराग्लाडिङका विमल अधिकारी र महिलातर्फ तेक्वान्दोकी निमा गुरुङ घोषित भएका हुन्। विजेता दुबै खेलाडीले समान १–१ लाख नगद पाए।
प्रतिभावान महिला खेलाडीमा भलिबलकी सरस्वती चौधरी चुनिए भने पुरुषतर्फ एथ्लेटिक्सका अजितकुमार यादव। विजेता दुबै खेलाडीले समान ५०–५० हजार पाए। त्यस्तै, पारा एथलिट अवार्डबाट महिमा कोइराला सम्मानित भइन्। उनले १० हजार पाइन्। त्यस्तै, गजराज आदशै खेल व्यक्तित्व अवार्डबाट बक्सिङका मदनकुमार गुरुङ सम्मानित भए। उनले ३५ हजार पाए।
त्यस्तै, अन्य उत्कृष्ट खेलाडीमा फुटबलका भरत खवास, भलिबलकी सरस्वती चौधरी, सुटिङकी सुष्मिता नेपाल, भारोत्तलोनकी सञ्जु चौधरी, प्याराग्लाइडिङका विमल अधिकारी, पौडीका सुभम श्रेष्ठ, टेबल टेनिसकी नविता श्रेष्ठ, एथलेटिक्सका अजित कुमार यादव, बास्केटबलका मनिषराज उपाध्याय, जुडोका इन्द्र श्रेष्ठ, करातेका विजय श्रेष्ठ, कुस्तीका रेशम गौतम, उसुकी जुनी राई, आर्चरीका तिलक पुन मगर र तेक्वान्दोकी निमा गुरुङ चुनिए। त्यस्तै, फेन्सिङका ओमकार सिंह, लन टेनिसकी प्रेरणा कोइराला, कबड्डीकी रेणुका कुमारी राजवंशी, सेपाकताक्रोका रोशन तामाङ, स्पोर्टस क्लाम्बिङका पेम्बा शेर्पा, बक्सिङका मिलन शाह ठकुरी, रोलरका भूपेन्द्र थापा, ब्याडमिन्टनका दीपेश धामी, कुराँशका उपेन्द्र थापा, पेनकेक सिलातका गोविन्द चौधरी, ट्रायथोलनका बसन्त थारु र गल्फका टंकबहादुर कार्की चुनिए। यो विधाका सबैले समान १०–१० हजार पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।