काठमाडौं- इलाममा आयोजना हुने छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मीको प्रतिद्धन्दी संकटा क्लब परेको छ।
माइभ्याली फुटबल क्लबले फागुन १५ देखि २४ गतेसम्म इलामको ठूलो टुडिखेलामा आयोजना हुने खेलमा आर्मीले आफ्नो प्रतिद्धन्दी संकटा पाएको हो। यी दुई क्लबबीचको खेल फागुन १८ गते हुनेछ। यी दुई टिमको विजेता सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ।
आर्मी र संकटा रहेकै समूहमा रहेको माइभ्याली फुटबल क्लबले ग्यान्टोक सिटी फुटबल क्लब सिक्किमसँग १६ गते खेल्नेछ। यो समूहबाट मोहम्मडन स्पोर्टिङ क्लबले भने आयोक क्लब र सिक्किमबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ।
त्यस्तै, फागुन १५ गते हुने उद्घाटन खेलमा भने कोहिमा इगल फुटबल क्लब नागाल्याण्डले रुपन्देहीको गोर्खा ब्वाइज फुटबल क्लबसँग खेल्नेछ। त्यस्तै, एमएफसी दार्जिलिङले झापा एघारसँग १७ गते सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।
सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले भने सेमिफाइनल प्रवेशका लागि कोहिमा इगल फुटबल क्लब र गोर्खा ब्वाइज फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।