काठमाडौं- एसिसी टि–२० पूर्वीय क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्धन्दी मलेसिया पाएको छ।
एसियन क्रिकेट परिषद् (एसिसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले मलेसियासँग खेल्ने भएको हो। उद्घाटन खेलको रुपमा आयोजक थाइल्यान्डले सिंगापुरसँग प्रतिस्पर्धा गर्दा प्रतियोगिताकै पहिलो दिन नेपालले मलेसियासँग फागुन १७ गते खेल्ने भएको हो।
त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा १८ गते हङकङसँग खेल्नेछ भने २१ गते आयोजक थाइल्यान्डसँग खेल्नेछ। नेपालले आफ्नो अन्तिम खेल भने २३ गते शुक्रबार सिंगापुरसँग खेल्नेछ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ।नेपाली टिममा भुवन कार्कीले पुनरागमन गरेका छन्।
नेपाली टिममा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सनदीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुशन भारी, पवन सर्राफ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन्।
मुख्य प्रशिक्षकमा जगत टमाटा छन् भने म्यानेजरमा माधव कुमार कर्माचार्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।