काठमाडौं- ललितपुर महानगरपालिकाले महानगरभित्रका ए, बि र सि डिभिजन क्लबहरुलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको छ।
ललितपुरले महानगरभित्र रहेका ५ ए डिभिजन क्लबलाई प्रोत्साहन स्वरुप ४–४ लाख रुपैयाँ उपलब्ध गराएको छ। जसअनुसार थ्रीस्टार, जावलाखेल युथ क्लब, फ्रेड्स क्लब, ब्रिगेड व्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले समान ४–४ लाख नगद पाएका छन्।
त्यस्तै, विभिन्न राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सफल भएको थ्रीस्टार क्लबलाई ललितपुरले थप १२ लाख हौसला स्वरुप रकम प्रदान गरेको छ। थ्रीस्टारले सिमारा गोल्ड कप, आहा गोल्ड कप र राजश्री जनक कप जितेको थियो। ७ वटा उपाधि जितेको थ्रीस्टारले गत वर्ष ललितपुरबाट २८ लाख प्राप्त गरेको थियो।
त्यस्तै, च्यासलले २ वटा प्रतियोगितामा उपाधि जितेको कारण ८ लाख नगद पाउँदा एउटा प्रतियोगिताको उपाधि जितेको जावलाखेलले ४ लाख नगद प्राप्त गरेको छ।
प्रोत्साहन र प्रतियोगितामा जित हासिल गरेको आधारमा थ्रीस्टारले १६ लाख, च्यासलले १२ लाख र जावलाखेलले ८ लाख प्राप्त गरे।
त्यस्तै, ललितपुर महानगरले ४ वटा बि डिभिजन क्लबलाई समान ३–३ लाख रुपैयाँ प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ। ३ लाख पाउने क्लबहरुमा खुमलटार, सातदोवाटो, झम्सिखेल र पुल्चोक रहेका छन्। सि डिभिजनमा रहेका २ वटा क्लबलाई पनि ललितपुरले नगद प्रदान गरेको छ। खालीबारी र सानेपाले समान २–२ लाख रुपैयाँ नगद पाएका हुन्।
ललितपुर महानगरले गत वर्षदेखि नै वार्षिक बजेटमा व्यवस्था गरी महानगरभित्र रहेका ए, बि र सि डिभिजन क्लबहरुलाई प्रोत्साहन रकम दिँदै आएको छ। रकम हस्तान्तरण गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आगामी नगरसभाबाट निर्णय गराएर फुटबल क्लबहरुलाई दिइने प्रोत्साहन रकम बृद्धि गरिने जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।