काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आर्मीविरुद्ध मछिन्द्र क्लबले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ।
दशरथ रंगशालामा जारी खेलमा आत्मघाति गोल खाँदै आर्मी पहिलो हाफसम्म १–० गोलले पछि परेको हो। खेलको ३३औं मिनेटमा आर्मीका खेलाडीले रेजिन सुब्बालाई फोउल गरेपछि मछिन्द्र क्लबले फ्रिकिक पाएको थियो। मछिन्द्रका लागि रञ्जित धिमालले प्रहार गरेको प्रिकिक बचाउने क्रममा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे। योसँगै मछिन्द्र १–० गोलले अघि रहेको हो।
बललाई बचाउने क्रममा पोलमा ठोकिएर आर्मीका गोलकिपर विकेश कुथु भने गम्भिर घाइते हुँदै मैदानबाट बाहिरिएका छन्। उनको स्थानमा बिवस चौधरीले गोल किपरको जिम्मा पाएका थिए।
लिगको अन्तिम खेलमा आज आर्मीलाई बराबरी नतिजाले पनि उपाधिका लागि पुग्नेछ। तर मछिन्द्रले उपाधि जित्न आर्मीलाई पराजित गर्नै पर्ने हुन्छ।
१२ खेलबाट ९ खेलमा जित २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोरेको आर्मी २९ अंक बनाउँदै शीर्ष स्थानमा छ। समान खेलबाट ९ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोरेको मछिन्द्र २८ अंक बनाएर लिगको दोस्रो स्थानमा छ। गत वर्षको लिगमा पुछारबाट दोस्रो स्थानमा मछिन्द्र रहेको कारण उनको १ अंक काटिएको हो।
सरस्वती युथ क्लब भने यो लिगबाट रेलिगेसनमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।