काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि छिनोफानो शनिबार लाग्दैछ। लिगको अन्तिम खेलमा विभागीय टिम आर्मी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
निकै रोमाञ्चक बन्दै उपाधिको टुंगो लाग्न अन्तिम खेलसम्म कुर्नु परेको लिग आर्मी र मछिन्द्रमध्ये कसले जित्ला? आर्मी र मछिन्द्र क्लबका दुबै प्रशिक्षक नविन न्यौपाने र प्रवेश कटुवाल आ–आफ्नो क्लबले जित्ने दाबी गरिरहँदा अन्तिम समयमा लिग रोमाञ्चक बनेको छ।
तुलनात्मक रुपमा मछिन्द्रलाई भन्दा पनि आर्मीलाई उपाधि जित्न सजिलो छ। आर्मीलाई बराबरी भए उपाधि जित्न पुग्छ। तर मछिन्द्रले उपाधि जित्न शीर्ष स्थानमा रहेको आर्मीलाई पराजित गर्नै पर्ने हुन्छ।
यता, मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवाल आफूहरु च्याम्पियन बन्नकै लागि लिग खेलेको भन्दै आर्मीलाई पराजित गर्ने दाबी गर्छन्।
‘आर्मीविरुद्ध हामी च्याम्पियन हुनकै लागि खेल्ने छौं। हामीलाई जित्नै पर्ने दबाब छ। हाम्रो लागि जितको विकल्प छैन। आर्मी राम्रो टिम देखिन्छ। आर्मीलाई गोल गर्न निकै गाह्रो हुन्छ।’ प्रशिक्षक कटुवाल थप्छन्, ‘हामीसँग अनुभवि र स्तरीय खेलाडी छन्। यसले गर्दा हामी आर्मीलाई रोक्छौं।’
डिस्को काण्डमा मुछिएपछि ९० दिनको प्रतिबन्धमा परेका विमल घर्तिमगरले लिगको अन्तिम खेल भने मछिन्द्र क्लबबाट खेल्ने भएका छन्। योसँगै मछिन्द्रलाई केही उर्जा मिलेको छ भने आर्मीलाई दबाब। तर मछिन्द्रका कप्तान विराज महिर्जनसँगै सुजल श्रेष्ठ, रेजिन सुब्बा र दीपक राई घाइते छन्। यसले भने मछिन्द्रलाई ठूलो धक्का पुगेको छ।
विमलले विगत १० दिनदेखि टिमसँग अभ्यास थालेको र आर्मीविरुद्ध प्लेइङ इलाभेनबाटै खेल्ने पनि प्रशिक्षक कटुवालले जानकारी दिए। यता, कप्तान विराज महर्जनले आर्मीलाई पराजित गर्न कुनै अप्सन नरहेको भन्दै उपाधि चुम्नेमा आफू विश्वस्त रहेको बताए।
आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने ढुक्क देखिन्छन्। उपाधि नजिक पुगेको आर्मी अब कुनै हालतमा नरोकिने उनको दाबी छ। उनले भने, ‘सबै खेलाडीको लक्ष्य नै उपाधि चुम्ने छ। त्यसैले मछिन्द्रविरुद्धको खेल हामी एट्रयाकिङ खेल्दै जित्ने छौं। मछिन्द्रलाई जितको विकल्प छैन। उनीहरु एट्रयाकिङ फुटबल खेल्नेछ। हामी त्यसकै फाइदा उठाउँदै गोल गर्ने लक्ष्यमा छौं।’
यता, कप्तान भरत खवास आफ्नै कप्तानीमा आर्मीलाई उपाधि दिलाउँदै सफल कप्तानको परिचय दिने दाउँमा छन्। भन्छन्, ‘भोलिको दिन हाम्रो लागि खास हुनेछ। तयारी राम्रो छ। हामीलाई उपाधिका लागि बराबरीले पनि पुग्छ तर मलाई बराबरीले पुग्दैन। जित्नैको लागि हामी खेल्ने छौं।’
लिगको शीर्ष स्थानमा रहेको आर्मीको १२ खेलबाट नौं खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै २९ अंक छ। समान खेलबाट नौं खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा नै हार ब्योरेको मछिन्द्रको २८ अंक छ। गत संस्करणको लिगमा पुछारदेखि दोस्रो स्थानमा रहेकोले मछिन्द्रको १ अंक काटिएको हो।
त्यस्तै, लिगको तेस्रो स्थानमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब रहँदा चौथो स्थानमा थ्रीस्टार र पाँचौं स्थानमा पुलिस छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।