काठमाडौं- चौथो हिरो इन्डियन महिला लिग फुटबलको उपाधि गोकुलम केरलाले जितेको छ।
शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै गोकुलमले चौथो संस्करणको हिरो इन्डियन महिला लिगको उपाधि जितेको हो। गोकुलमलाई उपाधि दिलाउन नेपालकी सावित्रा भण्डारी, प्रमेश्वरी देवी र कमला देवीले गोल गरे। यता, क्रिप्साका लागि दंमेइ ग्रेस र रतनबाला देवीले गोल फर्काएकी थिए।
खेलको पहिलो मिनेटमा नै प्रमेश्वरीले गोल गर्दै गोकुलमलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको २५औं मिनेटमा कमलाले गोल गर्दै गोकुलमलाई २–० गोलको अग्रता दिलाइन्। तर खेलको ३३औं मिनेटमा ग्रेसले गोल गरेपछि क्रिप्सा २–१ गोलको स्थितिमा पुग्यो।
खेलको ७२औं मिनेटमा रतनबालाले गोल गर्दै क्रिप्सालाई २–२ गोलको बराबरी दिलाइन्। तर खेलको ८७औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै गोकुलमलाई ३–२ गोलको जित दिलाइन्।
जितसँगै च्याम्पियन बनेको गोकुलमले ट्रफिसँगै १० लाख भारतीय रुपैयाँ नगद पाएको छ। यता, उपविजेतामा सीमित बनेको क्रिप्साले पाँच लाख नगद पाएको छ।
प्रतियोगिताको मोष्ट भ्यालुएबल खेलाडी रतनबलादेवी बनिन्। उनले एक लाख २५ हजार भारु पाइन्। प्रतियोगितामा सर्वाधिक गोलकर्ता भने सावित्रा भण्डारी बनिन्। उनले एक लाख भारु पाइन्। त्यस्तै, बेष्ट गोलकिपर क्रिप्साकी लिन्थोइगाम्बी देवी भइन्। उनले पनि एक लाख भारु नै पाइन्। इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट भने गोकुलमकी मनिषा भइन्। उनले भने ७५ हजार भारु पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।