काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आफ्नो अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ।
शुक्रबार सातदोबाटोमा भएको खेलमा मनाङले जावलाखेललाई १–० गोलको कठिन जित निकालेको हो। मनाङलाई जिताउन निशान लिम्बुले गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरी रोकेको जावलाखेलले दोस्रो हाफमा गोल खान पुगेको थियो। खेलको ७५औं मिनेटमा मनाङका लागि निशानले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए। बाँकी समयमा गोल गर्न नसकेपछि जावलाखेल मनाङसँग १–० गोलले स्तब्ध बनेको हो।
जितसँगै मनाङ लिगको तेस्रो स्थानमा उक्लिएको छ। मनाङले १३ खेलबाट ८ खेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा हार ब्यहोर्दै २८ अंक बनाएको हो। दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको १२ खेलबाट २८ अंक नै छ। तर गोलअन्तरमा अघि रहँदै दोस्रो स्थानमा रहेको हो।
लिगमा उपाधिको छिनोफानो शनिबार आर्मी र मछिन्द्र क्लबबीचको खेलले गर्नेछ।
यता, जावलाखेलले हार ब्यहोरेसँगै पाँचौं स्थानमा लिग टुंग्याउने राम्रो अवसर खेर फालेको छ। मनाङलाई जावलाखेलले पराजित गरेको भए पुलिसलाई उछिन्दै पाँचौ स्थानमा उक्लिने थियो। तर पराजित भएसँगै जावलाखेलले १३ खेलबाट ५ खेलमा जित, ४ खेलमा बराबरी र ४ खेलमा हार ब्यहोर्दै १९ अंक बनाएर छैटौं स्थानमा लिग सकाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।