च्यासललाई हराएर तेस्रो स्थानमा थ्री स्टार

नेपाल लाइभ | २०७६ फागुन २ शुक्रबार | Friday, February 14, 2020 १४:११:०० मा प्रकाशित

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबलाई २–० ले हराएर अन्तिम खेलपछि थ्री स्टार क्लब तेस्रो स्थानमा उक्लिएको छ। 

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ७०औँ मिनेटमा लाल राम्भाराले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। दोस्रो गोल खेलको अन्तिम समयमा अनन्त तामाङले गरे। 

जितसँगै १३ खेलमा २६ अंक बनाएर थ्री स्टार अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ। यसअघि २५ अंकसहित तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले शुक्रबार नै जावलाखेल युथ क्लबसँग अन्तिम खेल खेल्दैछ। जावलाखेललाई हराएमा मनाङ नै तेस्रो स्थानमा पुग्नेछ। 

यस्तै च्यासल युथ क्लबले १५ अंकसहित नवौँ स्थानमा लिग सकाएको छ। 

लिगमा अब दुई खेल मात्रै बाँकी छन्। जसमा शुक्रबार नै जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब एन्फा कम्प्लेक्समा नै खेल्नेछन्। 

लिगको अन्तिम खेलमा शनिबार दिउँसो साढे १ बजे मछिन्द्र र त्रिभुवन आर्मी क्लब खेल्नेछन्। जसले विजेताको टुंगो लाग्नेछ। अहिले शीर्ष स्थानमा रहेको आर्मीको २९ अंक छ। मछिन्द्रको २८ अंक रहेको छ।