इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित

नेपाल लाइभ | २०७६ फागुन १ बिहीबार | Thursday, February 13, 2020 १२:२७:०० मा प्रकाशित

काठमाडौं- ३ खेलको टि–२० क्रिकेट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ।

घरेलु टिम दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १ रनको रोमाञ्चक जित हात पारेको हो। १७८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ९ विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो।

इंग्ल्यान्डका लागि जासन रोयले ७० रन बनाए। उनले विष्फोटक ब्याटिङ गर्दै ३८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, कप्तान इयोन मोर्गनले ५२ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि टेम्बा बाभुमाले ४३, कप्तान डि कक् र रसिइ भान डेर डुसेनले समान ३१–३१ रन बनाए।