पुलिसले अन्तिम खेलमा फ्रेन्ड्सलाई हरायो, जुमानुको ह्याट्रिक 

नेपाल लाइभ | २०७६ फागुन १ बिहीबार | Thursday, February 13, 2020 १२:२०:०० मा प्रकाशित

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ३–० ले हराएको छ। पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे। 

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले ह्याट्रिक नै गरे। 

पुलिसका लागि खेलको ४९औँ मिनेटमा पहिलो गोल गरेका जुमानुले ५६औँ र ८५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। 

पुलिसले लिगका सबै खेल खेलिसक्दा २० अंक बनाएर पाँचौँ स्थानमा रहेको छ। ६ खेल जितेर दुई बराबरी गरेको पुलिसले ५ खेल हारेको थियो। यस्तै १४ अंक रहेको फ्रेन्ड्स क्लब १०औँ स्थानमा छ। 

लिग शनिबार सकिनेछ। जसमा शनिबार दशरथ रंगशालामा हुने मछिन्द्र र त्रिभुवन आर्मीबीचको खेलले विजेताको टुंगो लाग्नेछ। 

बिहीबार नै एपिएफ र बिग्रेड ब्वाइज क्लबबीच पनि खेल चलिरहेको छ। बिहीबार तेस्रो खेलमा सरस्वती युथ क्लब र संकटा क्लब खेल्दैछन्। सरस्वती क्लब पुछारमा रहँदै रेलिगेसनमा परिसकेको छ।